Sunday 31 March 2019

29/03/2019

धेरैनै दुखको कुरात होइन, तर पनि सम्स्याको मुल पाना भनेझै ,,,,!, हाम्रो एक जना समाज कर्मि श्रीमान सिङ्वीर फागो चोङ्वाङ, माङ सेवासाबाज्युलाई अचानक गम्भीर बिराम्ले आक्रमण गरेको हुदा वाहाको उपचार हिजो 29 March 2019 सुक्रबार को दिनदेखी गुवाहाटीको NEMCARE HEART INSTITUTE & RESEARCH CENTRE and SUPER SPECIALITY HOSPITAL मा उपचार भैरहेको सबैमा सहस्र जानकारी गराउदछु , " आर्थिक समस्या धेरै कम्जोर भएको हुदा समाजको आशामा निर्भर छौ हामी "
Chongbang Limbu.

Friday 22 March 2019

"किरात भाषा-लिपि बारेको यथार्थता"


"किरात भाषा-लिपि बारेको यथार्थता"


Lugun Rai

लेखक :- देवदास राई लुगुन (किरात दर्पण)

प्राचिनकालमा यहा नेपालमा किरातहरुले राज्य शासन गरेको कुरा इतिहासले स्पष्ट गरिसकेको छन् । समयको फेरबदलले गर्दा यीनै राज्य शासन समाप्त भएको हुदा किरात भाषा, लिपिको जगेर्ना गर्ने स्थिति आएन । एक्ला-एक्लै छटपटाइ रहनु पर्यो । लक्षहिन बाटोमा हिन्न बाध्यता गराइ रह्यो । विभिन्न षड्यन्त्रले गर्दा हाम्रो चाहाना र प्रयासहरु पराजित हुदै गयो । किरात भाषा लिपिको विकासमा निरन्तरता पाउने सम्भावना क्षिण हुदै गएको देखियो । स्वाभिमानको सुरक्षा हुन सकेन । किनभने अनेकौ कुटनीतिक षड्यन्त्रहरुबाट किरात भाषा लिपि मल्लकालदेखि नष्ट पार्दै गएको र बहादुर शाहको शासनकालबाट प्राय अरु नष्ट भएको बुझिन्छ । यस हिसावले किरात बंशावली, ताम्रपत्र तथा भाषा, लिपि, धर्म, संस्कृति र इतिहास आदिका पुस्तकहरु तीस हजार थान जम्मा गरेर चन्द्र शम्सेरको प्रधान मन्त्रीत्वकालमा आगो लगाएर नष्ट पारिएको कुरा गोपाल गुरुङ लिखित "नेपालको राजनीतिमा अदेखा सचाई" मा स्पष्ट उल्लेख भएको छ । यस्तै विभिन्न कारणहरुबाट किरात जाति पिछडिएका हुन् । र यही पछौटे पनले गर्दा लिरात जातिको अस्तित्व प्रकाशनमय हुन सकेन । यसैले त्यस समयमा कसैले कसैबाट सघाउ पुग्न सकेन । यसो हुदा कुनै पनि काममा पूर्णता दिन सकेन । त्यस समय हाम्रो निम्ति दुर्भाग्यपूर्ण स्थिति थियो ।
       वास्तवमा राणाहरुको एकतन्त्रीय शासनकालमा र निर्दलीय पंचायती शासनकालमा किरात भाषा, लिपिको अवस्था दर्दनाक थियो । वेदनापूर्ण थियो ।  सरकार र प्रशासनिक व्यवोहार बाट हामी आतंकित हुनु पर्यो । त्रसित हुन पर्यो । हाम्रो इज्जत र प्रतिष्ठा झागीने अवसर थिएन । यसैकारणले किरात भाषा, लिपिको पनि विकास हुन सकेन । किनभने हामी एकजुट भएर कार्य पक्षमा लाग्न सकेनौ । कुनै पनि काममा निरन्तरता दिन सकेनौ । त्यस समय हाम्रो विश्वासनियता माथि प्रश्न चिन्ह उठि रहन्थ्यो । यसरी हाम्रो भावना र चाहानालाई समावेश गर्न तत्कालिन सरकारले आवश्यकता महसुस गरेको देखिन्छ । किनभने त्यस समयमा किरात भाषा, लिपिको सुविधा र सहुलियतको कुरा गर्न दण्डनीय थियो । रिमोट कन्ट्रोल जस्तै जता हिडाए पनि हिड्नु पर्दथियो । मानव अधिकारको कुरा शुन्य प्राय थियो । हामि किरातीहरुलाई अघि बढ्न नदिनका निम्ति तत्कालिन प्रशासकहरुको "होमवर्क" हुन्थ्यो । दवाव धम्कीको भयावह परिणामहरु हामीले भोगिरहन पर्दथियो । यसै कारण किरात भाषा, लिपिको प्रचार प्रसारमा निरन्तरता आउन सकेन । जे होस्, आज प्रजातन्त्रको पुनर बहाली भएकोले रचनात्मक एवं आशामुलक वातावरणको सृजना भएको छ । कथित षड्यन्त्रको शिकार बाट मुक्त भएका छौ । यसैले किरात भाषा, लिपिको संरक्षण र सम्बर्धनका निम्ति अघि बढ्न पर्ने आवश्यकता देखिन्छ । अब यस अभियानलाई सफल गराई किरातीहरु बीच एउटा अनुकरणीय उदाहरण बनाउन सक्नु पर्दछ । किन भने राणा शासनकाल एवं पंचायती शासनकालको जस्तो निरंकुशताभित्रको विवशता र वाध्यताहरु हटेर गएको छ । आज किरात भाषा, लिपिको प्रचार प्रसार खुल्ला रुपमा गर्न पाएका छौ । धर्म, संस्कृति, संस्कार आदिको कुराहरु दिल खोलेर गर्न सकेका छौ । यसरी हामीले चिन्ने सीप हामी भित्रै जाग्यो । यो यथार्थता यसरी सकारात्मक बन्न गयो । यसै सन्दर्भमा नेपालको संविधान २०७२ सालको पहिलो संशोधनको विश्लेषणात्मक टिप्पणीमा लेखिएको छ "संविधानको धारा ६ नेपालमा बोलिने सबै मातृभाषाहरुलाई रास्ट्रभाषा मानेका छन्" । यसबाट के स्पष्ट हुन्छ भने किरात भाषा पनि रास्ट्रभाषा भयो । संविधानत अब किरात भाषा लिपि लेखन, लेखाउन या प्रचार प्रसार कुनै वाधा अड्चन आउने छैन । तर व्यवोहारिक रुपमा हामी कति सफल हुन्छु त्यो हेर्न बाकी छ ।
   हुनत किरात कालको प्राचीनतालाई हेर्दा निश्चय पनि त्यस समयमा किरात भाषा, लिपि, संस्कार र संकृतिको प्रचलन भएको स्पष्ट देखिन्छ । किनभने प्राचीनकालमा किरात भाषा, लिपिको प्रचलनको यथार्थता लिच्छविकालको जनजीवनको हरेक पक्षमा किरात कालको प्रभाव प्रत्यक्षरुपले परेको कुरा लिच्छविकालको अभिलेखमा आएको तत्कालका जनभाषाको शब्दावलीबाट स्पष्ट थाहा हुन्छ । यस कुरालाई पुष्टि गर्दै धनब्रज ब्रजाचार्य "लिच्छविकालको अभिलेख" मा यसरी लेखेका छन् - "नेपाल उपत्यकका अस्सी प्रतिशत भन्दा बडी ठाउँ, नदी, कुलो, पोखरी, डाडा आदिका नाम पनि संस्कृत भाषामा छैनन् । उपयुक्त नामहरु किरात परिवारका भाषाबाट रहेका छन्" । वास्तवमा यो भाषिक शब्दावली किरात जातिको अस्तित्व महत्वपुर्ण आधारको रुपमा रहेका छन् । यसबाट यहा धेरै कालसम्म किरात शासन रहेका झलक पाइन्छ । अत: यो यथार्थतालाई बुझेर हामीले हाम्रो भाषा, लिपि, संस्कृति आदिको प्रसार प्रसारमा अग्रसर भयौ भने सफलताको निम्ति विश्व रंगमंचमा हामी फड्को मार्न सक्दछौ । यो निश्चित गन्तब्य हो र यो अनन्तसम्म रहिरहनेछ ।
   यस यथार्थतामा हामी सम्पूर्ण किरातीहरु एकजुट हुन पर्ने आजको आवश्यकता देखिएको छ । र काम कारवाहीमा प्रभावकारीता ल्याउनु पर्दछ । "मै मात्र सोहरू, मै मात्र बाचू" भने जस्तो नीच भावना त्याग्नु पर्दछ । साथै हामी किरातीहरुको घर कुरीति, कुसंस्कार, अशिक्षापन, एवं देह इर्ष्याको घर नबनाई बौद्धिक जमातको केन्द्रविन्दु बनाई हाम्रो भाषा, लिपि र संस्कृतिको विकासको निम्ति तन, मन, धन र वचनले लाग्नु पर्दछ । यसो भएमा हाम्रो सिद्धान्त, हाम्रो उदेश्य सकारात्मक बन्न सक्दछ । अत: यस्तो अवसरमा भाषा, लिपि, संस्कृतिको विकास र विस्तारमा ध्यानदिन सकेनौ भने हिजोकै स्थिति दोहोरिन सक्दछ । र किरात जातिको एउटा साचो इतिहास मेटिएर जान सक्दछ । त्यसपछि हामी कहाली लाग्दो अन्धकारमा बस्न पुग्दछौ । हाम्रो निम्ति यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन सक्दछ । तसर्थ यस्तो अवस्था आउन नदिन किरात समुदायको पहिचान र अस्तित्वका निम्ति किरात भाषा, लिपि, संस्कृतिलाई जगेर्ना गर्न पुर्खाहरुकै साहास र आत्मा बलबाट अभिप्रेरित हुन सक्नु पर्दछ ।
   अब भाषा, लिपि बारे फेरी फर्केर हेरौ । किरात जातिको भाषा, लिपि बारेमा जानकारी गर्ने गराउने किरात कालसंग सम्बन्ध अनेकौ प्रमाणहरु पाइएका छन् । तसर्थ किरात जातिको भाषा मात्र होइन, लिपि पनि भएको प्रमाण प्राचिन बौद्ध ग्रन्थ "ललित विस्तार" मा उल्लेख भएको पाइन्छ । यसरि यहा किरात भाषा, लिपिको चर्चा गर्दा विदेशी विद्वानहरु मध्ये कर्णल कर्कप्याट्रीक, डा. ए. क्याम्पवेल, सरब्रायन हटन हर्सन, प्रोफेसर आर. के. स्प्रीग, कर्णल कुडरस, मेजर मार्सल्स, डा. जयसवाल आदिको नाम पनि हामी बिर्सनु हुदैन । किनभने वाहाहरुले पनि किरात भाषा, लिपि बारेको यथार्थता जनसमक्ष ल्याई दिनु भएको छ । यसरि हेर्दा हामीले सन्तुष्टि र आनन्द लिनु पर्नेमा आज ती विदेशी विद्वानहरुले लेखि दिएको यस्ता महत्वपुर्ण कुराहरुलाई झुटो बनाउने प्रयासहरु पनि यदाकदा गरिरहेको छ । यस्तो भयो भने किरात इतिहास माइ नकारात्मक असर पर्न जान्छ । आशंका र अन्यौलतामा थप बल पुग्न सक्दछ । तर यसरी किरात इतिहासलाई बंग्याउन न्यायोचित देखिदैन । तसर्थ ती विदेशी विद्वानहरुको गुण पनि हामीले सम्झनु पर्दछ । बेइमानी बन्नु हुदैन । हाम्रो देशका विद्वानहरुले भन्दा ती विदेशी विद्वानहरुले नै किरात भाषा, लिपि बारेमा बडी चासो राखेको देखिन्छ । फलत: मित्र रास्ट्र ब्रिटेन (बेलायत) को लन्डन विश्वविद्यालय को "इंडिया अफिस लाइब्रेरी" मा किरात हस्त लिखित पुस्तक रहेको बुझिन्छ । यसको श्रेय ती विदेशी विद्वानहरुलाई नै छ । तर यसको महत्व हामीलेनै बुझ्न नसकेको स्पष्ट भएको देखिन्छ । तर यो कुरा आज हामीले बुझ्नु पर्ने समय आएको छ ।
   अन्त्यमा, विगतमा जे भयो-भयो, अहिले हामी वर्तमानमा छौ । हामीले हाम्रै भाषा, लिपिको औचित्य बारे प्रश्न चिन्ह उठाउनु हुदैन । वैचारिक अस्पष्टता देखाउन हुदैन । अब हामीले एकताको निम्ति जातीय एवं भाषिक सद्भावलाई निरन्तरता दिन सक्नु पर्दछ । यसैले किरात भाषा, लिपिको विकास र विस्तारको लागि एक आपसमा हातेमालो गरेर अघि बढौ । यसै सन्दर्भमा स्वयंभुलाल श्रेष्ठले भनेका छन् "जुन सुकै जातिको उत्थान गर्नु पर्छ भने त्यस भाषा, संस्कृतिको उत्थान गर्नु पर्दछ" । वास्तवमा यो भनाई सत्य छ । यस सत्यतालाई रामरी बुझौ । किनभने हाम्रो स्वाभिमान एवं अस्तित्व हामीले जोगाउनु पर्दछ । अत: यो काम सफलताको उचाइमा पुर्याउन हाम्रो लागि चुनौती र अवसर दुवै हुन् । 

संकलक :- शेर बहादुर हेम्ब्या सुब्बा (आसाम)


Saturday 16 March 2019

कर्म नै धर्म र जीवन हो


कसैले सोधे धर्म केहो भनेर ?

धर्म परिवर्तन हो भनिदिनु !

परिवर्तन केहो भनो भने ?

धर्ममा लाग्नु भनिदिनुस !

कुन धर्ममा लाग्नु भनो भने ?

जुन धर्ममा आफ्नो भाषा, लिपि, संस्कार, 

संस्कृति, छ त्यही धर्ममा लाग्नु भन्नु !!


किरात लिपि कि ? लिम्बु लिपि ? जानी राखौ


किरात लिपि कि लिम्बु लिपि ?

किरात दर्पण (देवदास राई लुगुन)

    प्राचिनकालदेखी नै अस्तित्वमा रहेको किरात लिपिलाई आजका केहि लिम्बु लेखकहरुले "लिम्बु लिपि" भनेर लेखन थालेका छन् । यसबाट के बुझिन्छ भने ईतिहासलाई पछाडी पारेर वर्तमानमा आफ्ना-आफ्ना कुरा राखेर मपाई बन्न खोजेको जस्तो देखिन्छ । वास्तवमा यो स्वार्थपरक धारणा हो कि विवेक को कमि हो । यस समयमा "लिम्बु लिपि" कति सान्दर्भिक छ ? हामि सबैले सबैतिर बुझ्नु पर्ने आवश्यकता देखिन्छ । किनभने हामी राई जातिले पनि लेख्दै आएको या मान्दै आएको "किरात लिपि" लाई "लिम्बु लिपि" भनेर विभिन्न छापाहरुमा आउनु राम्रो होईन । यस्तो विवादले किरात जातिको एकतामा अनेकता सृजना हुन सक्दछ । यसो भएमा हामि किरात जाति शुन्यको अवस्थामा रहनेछौ । र शुन्यको अवस्थामा विलय हुनेछौ । यस अवस्थामा हामि बिचको तेजिला उमंगहरु हामि बिचको द्रिढ विश्वासहरु दन्त्यकथामा परिणत हुनेछ । अनि हामि बाहुनवादको शाव्दिक सम्मोहन प्रति आकर्षित भएर मौनधारण गरेर बस्नु पर्नेछ ।
    हुनत हामि किरातीहरुले यस्तो त्रासदी स्थिति सृजना गर्नु हुदैन भन्ने मेरो मनसाय हो / तर आज अहा "लिम्बु लिपि" जबरजस्त लाद्न खोजिएको जस्तो देखिन्छ । यथार्थमा यदि "किरात लिपि" सम्बन्धी ऐतिहासिक तथ्य सत्य हो भने "लिम्बु लिपि" स्वीकार्नु पर्छ भने कसैको बाध्यता हुन सक्दैन । अट सत्य कुरालाई ढाकछोप गरेर हाम्रो स्वाभिमानभित्र कलंकको छाप पर्न दिनु हुदैन । कित राईहरु चुपचाप शान्त भएर बस्नु पर्यो कित एउटा साँघुरो मस्तिष्कभित्र आएको कुरालाई समर्थन गारेर बस्नु पर्यो । कि त छाडी दिउ अस्ता कुरा भन्नु पर्यो । यस्तै हो भने विनोवाभावेले भने जस्तो हुन सक्छ । विनोवाभावेले भनेका थिए :- "इतिहासको सबक सिक्न नसके इतिहास दोहोरिन्छ" यो कुरा हामीले बुझ्न सकेनौ भने समय र परिस्थिति अनुकुल सम्भव हुन सक्दछ । त्यतिबेला हामी किरातीहरु अन्यायमा परेको हुनेछौ / हामि बीच अशान्ति छाउनेछ । र हामी उपेक्षित भएर बस्नु पर्नेछ ।
    यसै क्रममा अब "लिम्बु लिपि" बारेमा केहि कुरा उल्लेख गर्न चाहान्छु । भारत सिक्किमका भू.पु. मुख्य मन्त्री सन्चमान लिम्बुले "किरात लिपि" लाई "लिम्बु लिपि" भनेर बारम्बार भनी रहनु भएको छ । यसरीनै पाचथर घरभई हाल काठमान्डू बस्नु भएको कवि. साहित्यकार बैरागी काइला र भारत दार्जिलिं मिरिकका विरही काइलाले पनि "किरात लिपि" लाई "लिम्बु लिम्बु" नै भनेर जोड दिनु भएको छ । यसरीनै झापा बिर्तामोडका तिक्मध्वोज ताप्मादेन, भुवनचन्द्र लिम्बु  र अमित लिम्बु समेत तीन जनाले संयुक्तरुपमा "किरात लिम्बु वर्णमाला" वि.सं २०६० सालमा प्रकाशित गरेका छन् । यसै क्रममा फेरी वि.सं. २०६० सालको "फाल्गुनन्द विशेषांक" मा पाचथर नागीका योङहाङ मच्छिन्द्र लिम्बुले पनि "युगपुरुष फाल्गुनन्द" शीर्षक लेखको एक ठाउमा महागुरु फाल्गुनन्द बारेमा यसरी लेखेका छन् "धर्मको कर्मकाण्ड आफ्नै लिम्बु भाषामा तैयार गरी श्रीजङ्गा लिपिको प्रचार प्रसार आजीवन गर्नु भयो" यसले हामि किरातीहरु बीच अन्योल पूर्ण अवस्था सृजना गरेको देखिन्छ । यस्तो वादविवाद रहिरह्यो भने हाम्रो किराती समाज कहिले उठ्दैन । अनि सफलताको शिखरमा पनि पुग्न सक्दैनौ ।
    यस्तो हुन पनि राम्रो होइन । तर यहाका केहि लिम्बु लेखकहरुले "किरात लिपि" लाई कहिले "लिम्बु लिपि" कहिले "सिरिजंगा लिपि" लेखी रहेका छन्, भनिरहेका छन् । तर यस्ता प्रस्तुतिले पुस्तौ पुस्ता देखिको सम्बन्धमा खोट लाग्न सक्दछ । किनभने हामि राई लिम्बु एकै हौ । केवल भाषा केही फरक पर्न गएको छ । तथापि जातियता, धर्म, रीति संस्कारले एकै सम्झनु पर्दछ । यसरी बनेको अस्तित्वलाई मेटाउन हुदैन । आज सम्म जानेका, बुझेका "किरात लिपि" लाई "लिम्बु लिपि सिरिजंगा लिपि" भनेर भ्रम एवं अन्यौलमा पार्न खोज्ने फुटाउ र शासन गर भन्ने सोचको उपज हो ।  यसरी फुट गराउने तत्वसंग हामी सधै होशियारी रहनु पर्दछ । र किरात एकताका निम्ति एक जुट हुन आवश्यक देखिन्छ । किनभने हामी राई, लिम्बु "किरात" हौ भन्ने कुरा स्वीकारी सकेका छौ । यदि यो यथार्थलाई बुझ्न सकेनौ भने भोलिको दिनमा किरात इतिहास कंलकमा दरिन सक्दछ । त्यति बेला विश्वकवि रविन्द्रनाथ तेगौरले भने जस्तो हुनेछन । विश्वकवि रविन्द्रनाथ तेगौरले भनेका थिए :- "यदि सूर्यलाई गुमाएर आसुँ बगाउछौ भने तिमीले तारा पनी गुमाउनेछौ" यो कुरालाई गम्भीरता पुर्वक सोच राख्दै किरात जागरणको अभियानमा सत्य र निष्ठाका साथ अगाडी बढौ । अब "किरात लिपि" को वास्तविकता पट्टि जाउँ । हिजो आज हामी बीच चलन चल्ती आएको लिपिलाई "किरात लिपि" भनेर लेखिएको उदाहरण प्रशस्तै भेटिन्छ-देखिन्छ । किरात भाषाविद एवं इतिहासकार इमानसिंह चेम्जोंले आफूद्वारा लेखिएको पुस्तकहरुमा "किरात लिपि" नै लेखेका छन् । यसबाहेक लेफ्टिनेन्ट कर्णेल भस्सी डा. ब्राइन हजसन, कर्णेल कर्कपेट्रीक, प्रोफेसर आर, के, स्प्रीग, क्याप्टन सी,जे, मोरिस, डा. कमला सांक्रित्यायन आदि विदेशी विद्वानहरुले पनि किरात जाति र किरात लिपि बारेमा खोज अनुसंदान गरी आ-आफ्ना पुस्तकमा लेखिसकेका छन् । बर्तमान किरात धर्म गुरु आत्मानन्द लिङदेङ सेइङ ले पनि "साम्जीक मुन्धुम" लेखिएको लिपि "किरात लिपि" नै हो "लिम्बु लिपि" होइन भनेर किन लेखने ! वास्तवमा "किरात लिपि" बाट लेखिएको हस्तलिखित पुस्तकहरु लण्डनको "इंडिया लाइब्रेरी" मा सुरक्षित रहेको कुरा सुन्नमा आएको छ । अत: किरात जतिको भाषा लिपिको खोज अनुसन्धान उल्लिखित विदेशी विद्वानहरुले गरेका हुनालेनै यस बारे जान्न बुझ्न आज हामीलाई सहज सुविधा भएको छ ।
    अब फेरी हामी किरात लिपि नै प्रसंगमा जाउ । तत्कालिन श्री ५ को सरकार, शिक्षा मन्त्रालय, पुरातत्व विभाग, रास्ट्रिय अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रकाशित गरेको "लिपि विकासको तालिका" अहिलेको सन्दर्भमा हेर्न बुझ्न अत्यन्तै आवश्यक देखिन्छ  त्यस तालिकामा नेपालमा लिच्छवी पुर्वकाल, लिच्छवीकाल, मल्लकाल र शाहवंश काल्सम्ममा चलन चल्तीमा आएको ब्राह्मी, पुर्व लिच्छवी, उत्तर लिच्छवी, किरात, रन्जना, भुजिमो, नेवारी, मैथिली, तिब्बती, नन्दनगिरी, देवनागरी, समेतका लिपिहरु उल्लेख भएको पाइन्छ । तर त्यो लिपि विकासको तालिका हेर्दा राई लिपि र लिम्बु लिपि को अस्तित्व नरहेको देखिन्छ  तसर्थ इतिहासको मूल्य मान्यता एवं भाषा लिपिको मान्यता माथि खेलवाड गर्नु गराउनु हास्यास्पद कुरा हुन जानेछ । अत: यस्तै कृयाकलाप माथि मध्यनजर राख्दै "घुम्ने मेचमाथि अन्धो मान्छे" कवितामा कवि भूपी शेरचनले यस्ताकुरा लेखेका छन् :-

"हामीले आफ्नो पुर्व स्मृति गुमाई सक्यौ
हामीले आफ्नो विगत उचाइलाई बिर्सि सक्यौ"

उल्लेखित कुराहरुलाई हामी सम्पूर्ण किरातीहरुले मनन गर्नु पर्दछ, बुझ्नु पर्दछ । किनभने हामी किरात-किरात नै हौ । किरात लिपि, लिम्बु लिपि र सिरिजंगा लिपि भनेर तर्क बहस गरिरहनु राम्रो होइन । हामीले परस्परमा सत्भाव, सचेतना र एकताको भावना जगाउनु पर्दछ । किरात इतिहासलाई कहिले उपेक्षा गरिनु हुदैन । इतिहास बिर्सेर किही लिम्बु लेखकहरुले "किरात लिपि" लाई "लिम्बु लिपि" "सिरिजंगा लिपि" भनेर लेखन थालियो भने राईहरुले पनि भोलिको दिनमा राई लिपि खोज्न थाल्नेछ । हामि बीच यस्तो भयो भने हाम्रो किरात अस्तित्व च्याङलिएको थाङना जस्तो हुन जानेछ । त्यसैले अब आडम्बरको पराकाष्ठमा पुगेर किरात इतिहासलाई खोक्रो प्रतीक बनाउनु हुदैन । किनभने हामी किरातीहरु बीच चलन चल्तीमा आएको "किरात लिपि" लाई कसैले "लिम्बु लिपि" कसैले सिरिजंगा लिपि" को मत मतान्तरणमा बहस गरिरहयौ भने हाम्रो लक्ष पुरा हुन सक्दैन । र हामी बैरागीएको पथिक जस्तै हुनेछौ । अत: हामी पीडा र वेदनाले भरिएको पर्खाल भित्र सीमित हुनेछौ । तब हामी नीस्पन्द, निश्चल, शिथिल र चुपचाप भएर बस्नु पर्ने हुन्छ । तसर्थ हामी वर्तमानको सचाई प्रति जागरुक हुनु आवश्यकता देखिएको छ । किरात लिपिलाई भ्रम भ्रान्तिमा पर्न दिनु हुदैन । अब हामीले सच्चाईको अनुभव गर्नु पर्दछ । वास्तविकता के हो ? गहिरिएर बुझ्नु पर्दछ । यसरि बुझ्न सक्यौ भने स्वस्थ सोचमा शुद्धता आई जातीय एकतामा सक्रियता आउन सक्दछ । र भोलिको दिनमा हामी किरातीहरुको निम्ति यो नै सबै भन्दा महत्वपुर्ण हुन जानेछ ।
    अन्त्यमा, टुट, फुट र गुटको सृजना नगरी जिन्दगीको सार्थकताको सही पहिचान गर्न गराउन हामी एकजुट हुन आवश्यकता देखिएको छ । तसर्थ हामी भित्र उब्जने रिस, राग, दोष, ईर्ष्या, अहम्लाई त्याग्न पर्ने देखिन्छ । अत: यी सबै त्यागेर नैतिक चरित्र, इमान, धर्म, सद्भाव एवं अनुशासनलाई मुलमन्त्र ठानेर कर्म क्षेत्रमा लाग्यौ भने सर्वहितायको निम्ति आनन्द छर्न सक्दछौ । त्यसैले अब उसो हामीले "किरात लिपि" लाई विवाद रहित बनाउन सक्यौ भने हामी किरातीहरु (राई-लिम्बु) बिचको साइनो सम्बन्ध झ्यांगिदै जान सक्दछ । तब विश्व रंगमंचमा हाम्रो इज्जत र प्रतिष्ठा पनि सबैतिर बढेर जान सक्दछ ।

नोगेन  आ-सेवारो

संकलन :- शेर बहादुर सुब्बा सरलपाडा B.T.A.D. आसाम