Showing posts with label "किरात भाषा-लिपि बारेको यथार्थता". Show all posts
Showing posts with label "किरात भाषा-लिपि बारेको यथार्थता". Show all posts

Friday, 22 March 2019

"किरात भाषा-लिपि बारेको यथार्थता"


"किरात भाषा-लिपि बारेको यथार्थता"


Lugun Rai

लेखक :- देवदास राई लुगुन (किरात दर्पण)

प्राचिनकालमा यहा नेपालमा किरातहरुले राज्य शासन गरेको कुरा इतिहासले स्पष्ट गरिसकेको छन् । समयको फेरबदलले गर्दा यीनै राज्य शासन समाप्त भएको हुदा किरात भाषा, लिपिको जगेर्ना गर्ने स्थिति आएन । एक्ला-एक्लै छटपटाइ रहनु पर्यो । लक्षहिन बाटोमा हिन्न बाध्यता गराइ रह्यो । विभिन्न षड्यन्त्रले गर्दा हाम्रो चाहाना र प्रयासहरु पराजित हुदै गयो । किरात भाषा लिपिको विकासमा निरन्तरता पाउने सम्भावना क्षिण हुदै गएको देखियो । स्वाभिमानको सुरक्षा हुन सकेन । किनभने अनेकौ कुटनीतिक षड्यन्त्रहरुबाट किरात भाषा लिपि मल्लकालदेखि नष्ट पार्दै गएको र बहादुर शाहको शासनकालबाट प्राय अरु नष्ट भएको बुझिन्छ । यस हिसावले किरात बंशावली, ताम्रपत्र तथा भाषा, लिपि, धर्म, संस्कृति र इतिहास आदिका पुस्तकहरु तीस हजार थान जम्मा गरेर चन्द्र शम्सेरको प्रधान मन्त्रीत्वकालमा आगो लगाएर नष्ट पारिएको कुरा गोपाल गुरुङ लिखित "नेपालको राजनीतिमा अदेखा सचाई" मा स्पष्ट उल्लेख भएको छ । यस्तै विभिन्न कारणहरुबाट किरात जाति पिछडिएका हुन् । र यही पछौटे पनले गर्दा लिरात जातिको अस्तित्व प्रकाशनमय हुन सकेन । यसैले त्यस समयमा कसैले कसैबाट सघाउ पुग्न सकेन । यसो हुदा कुनै पनि काममा पूर्णता दिन सकेन । त्यस समय हाम्रो निम्ति दुर्भाग्यपूर्ण स्थिति थियो ।
       वास्तवमा राणाहरुको एकतन्त्रीय शासनकालमा र निर्दलीय पंचायती शासनकालमा किरात भाषा, लिपिको अवस्था दर्दनाक थियो । वेदनापूर्ण थियो ।  सरकार र प्रशासनिक व्यवोहार बाट हामी आतंकित हुनु पर्यो । त्रसित हुन पर्यो । हाम्रो इज्जत र प्रतिष्ठा झागीने अवसर थिएन । यसैकारणले किरात भाषा, लिपिको पनि विकास हुन सकेन । किनभने हामी एकजुट भएर कार्य पक्षमा लाग्न सकेनौ । कुनै पनि काममा निरन्तरता दिन सकेनौ । त्यस समय हाम्रो विश्वासनियता माथि प्रश्न चिन्ह उठि रहन्थ्यो । यसरी हाम्रो भावना र चाहानालाई समावेश गर्न तत्कालिन सरकारले आवश्यकता महसुस गरेको देखिन्छ । किनभने त्यस समयमा किरात भाषा, लिपिको सुविधा र सहुलियतको कुरा गर्न दण्डनीय थियो । रिमोट कन्ट्रोल जस्तै जता हिडाए पनि हिड्नु पर्दथियो । मानव अधिकारको कुरा शुन्य प्राय थियो । हामि किरातीहरुलाई अघि बढ्न नदिनका निम्ति तत्कालिन प्रशासकहरुको "होमवर्क" हुन्थ्यो । दवाव धम्कीको भयावह परिणामहरु हामीले भोगिरहन पर्दथियो । यसै कारण किरात भाषा, लिपिको प्रचार प्रसारमा निरन्तरता आउन सकेन । जे होस्, आज प्रजातन्त्रको पुनर बहाली भएकोले रचनात्मक एवं आशामुलक वातावरणको सृजना भएको छ । कथित षड्यन्त्रको शिकार बाट मुक्त भएका छौ । यसैले किरात भाषा, लिपिको संरक्षण र सम्बर्धनका निम्ति अघि बढ्न पर्ने आवश्यकता देखिन्छ । अब यस अभियानलाई सफल गराई किरातीहरु बीच एउटा अनुकरणीय उदाहरण बनाउन सक्नु पर्दछ । किन भने राणा शासनकाल एवं पंचायती शासनकालको जस्तो निरंकुशताभित्रको विवशता र वाध्यताहरु हटेर गएको छ । आज किरात भाषा, लिपिको प्रचार प्रसार खुल्ला रुपमा गर्न पाएका छौ । धर्म, संस्कृति, संस्कार आदिको कुराहरु दिल खोलेर गर्न सकेका छौ । यसरी हामीले चिन्ने सीप हामी भित्रै जाग्यो । यो यथार्थता यसरी सकारात्मक बन्न गयो । यसै सन्दर्भमा नेपालको संविधान २०७२ सालको पहिलो संशोधनको विश्लेषणात्मक टिप्पणीमा लेखिएको छ "संविधानको धारा ६ नेपालमा बोलिने सबै मातृभाषाहरुलाई रास्ट्रभाषा मानेका छन्" । यसबाट के स्पष्ट हुन्छ भने किरात भाषा पनि रास्ट्रभाषा भयो । संविधानत अब किरात भाषा लिपि लेखन, लेखाउन या प्रचार प्रसार कुनै वाधा अड्चन आउने छैन । तर व्यवोहारिक रुपमा हामी कति सफल हुन्छु त्यो हेर्न बाकी छ ।
   हुनत किरात कालको प्राचीनतालाई हेर्दा निश्चय पनि त्यस समयमा किरात भाषा, लिपि, संस्कार र संकृतिको प्रचलन भएको स्पष्ट देखिन्छ । किनभने प्राचीनकालमा किरात भाषा, लिपिको प्रचलनको यथार्थता लिच्छविकालको जनजीवनको हरेक पक्षमा किरात कालको प्रभाव प्रत्यक्षरुपले परेको कुरा लिच्छविकालको अभिलेखमा आएको तत्कालका जनभाषाको शब्दावलीबाट स्पष्ट थाहा हुन्छ । यस कुरालाई पुष्टि गर्दै धनब्रज ब्रजाचार्य "लिच्छविकालको अभिलेख" मा यसरी लेखेका छन् - "नेपाल उपत्यकका अस्सी प्रतिशत भन्दा बडी ठाउँ, नदी, कुलो, पोखरी, डाडा आदिका नाम पनि संस्कृत भाषामा छैनन् । उपयुक्त नामहरु किरात परिवारका भाषाबाट रहेका छन्" । वास्तवमा यो भाषिक शब्दावली किरात जातिको अस्तित्व महत्वपुर्ण आधारको रुपमा रहेका छन् । यसबाट यहा धेरै कालसम्म किरात शासन रहेका झलक पाइन्छ । अत: यो यथार्थतालाई बुझेर हामीले हाम्रो भाषा, लिपि, संस्कृति आदिको प्रसार प्रसारमा अग्रसर भयौ भने सफलताको निम्ति विश्व रंगमंचमा हामी फड्को मार्न सक्दछौ । यो निश्चित गन्तब्य हो र यो अनन्तसम्म रहिरहनेछ ।
   यस यथार्थतामा हामी सम्पूर्ण किरातीहरु एकजुट हुन पर्ने आजको आवश्यकता देखिएको छ । र काम कारवाहीमा प्रभावकारीता ल्याउनु पर्दछ । "मै मात्र सोहरू, मै मात्र बाचू" भने जस्तो नीच भावना त्याग्नु पर्दछ । साथै हामी किरातीहरुको घर कुरीति, कुसंस्कार, अशिक्षापन, एवं देह इर्ष्याको घर नबनाई बौद्धिक जमातको केन्द्रविन्दु बनाई हाम्रो भाषा, लिपि र संस्कृतिको विकासको निम्ति तन, मन, धन र वचनले लाग्नु पर्दछ । यसो भएमा हाम्रो सिद्धान्त, हाम्रो उदेश्य सकारात्मक बन्न सक्दछ । अत: यस्तो अवसरमा भाषा, लिपि, संस्कृतिको विकास र विस्तारमा ध्यानदिन सकेनौ भने हिजोकै स्थिति दोहोरिन सक्दछ । र किरात जातिको एउटा साचो इतिहास मेटिएर जान सक्दछ । त्यसपछि हामी कहाली लाग्दो अन्धकारमा बस्न पुग्दछौ । हाम्रो निम्ति यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन सक्दछ । तसर्थ यस्तो अवस्था आउन नदिन किरात समुदायको पहिचान र अस्तित्वका निम्ति किरात भाषा, लिपि, संस्कृतिलाई जगेर्ना गर्न पुर्खाहरुकै साहास र आत्मा बलबाट अभिप्रेरित हुन सक्नु पर्दछ ।
   अब भाषा, लिपि बारे फेरी फर्केर हेरौ । किरात जातिको भाषा, लिपि बारेमा जानकारी गर्ने गराउने किरात कालसंग सम्बन्ध अनेकौ प्रमाणहरु पाइएका छन् । तसर्थ किरात जातिको भाषा मात्र होइन, लिपि पनि भएको प्रमाण प्राचिन बौद्ध ग्रन्थ "ललित विस्तार" मा उल्लेख भएको पाइन्छ । यसरि यहा किरात भाषा, लिपिको चर्चा गर्दा विदेशी विद्वानहरु मध्ये कर्णल कर्कप्याट्रीक, डा. ए. क्याम्पवेल, सरब्रायन हटन हर्सन, प्रोफेसर आर. के. स्प्रीग, कर्णल कुडरस, मेजर मार्सल्स, डा. जयसवाल आदिको नाम पनि हामी बिर्सनु हुदैन । किनभने वाहाहरुले पनि किरात भाषा, लिपि बारेको यथार्थता जनसमक्ष ल्याई दिनु भएको छ । यसरि हेर्दा हामीले सन्तुष्टि र आनन्द लिनु पर्नेमा आज ती विदेशी विद्वानहरुले लेखि दिएको यस्ता महत्वपुर्ण कुराहरुलाई झुटो बनाउने प्रयासहरु पनि यदाकदा गरिरहेको छ । यस्तो भयो भने किरात इतिहास माइ नकारात्मक असर पर्न जान्छ । आशंका र अन्यौलतामा थप बल पुग्न सक्दछ । तर यसरी किरात इतिहासलाई बंग्याउन न्यायोचित देखिदैन । तसर्थ ती विदेशी विद्वानहरुको गुण पनि हामीले सम्झनु पर्दछ । बेइमानी बन्नु हुदैन । हाम्रो देशका विद्वानहरुले भन्दा ती विदेशी विद्वानहरुले नै किरात भाषा, लिपि बारेमा बडी चासो राखेको देखिन्छ । फलत: मित्र रास्ट्र ब्रिटेन (बेलायत) को लन्डन विश्वविद्यालय को "इंडिया अफिस लाइब्रेरी" मा किरात हस्त लिखित पुस्तक रहेको बुझिन्छ । यसको श्रेय ती विदेशी विद्वानहरुलाई नै छ । तर यसको महत्व हामीलेनै बुझ्न नसकेको स्पष्ट भएको देखिन्छ । तर यो कुरा आज हामीले बुझ्नु पर्ने समय आएको छ ।
   अन्त्यमा, विगतमा जे भयो-भयो, अहिले हामी वर्तमानमा छौ । हामीले हाम्रै भाषा, लिपिको औचित्य बारे प्रश्न चिन्ह उठाउनु हुदैन । वैचारिक अस्पष्टता देखाउन हुदैन । अब हामीले एकताको निम्ति जातीय एवं भाषिक सद्भावलाई निरन्तरता दिन सक्नु पर्दछ । यसैले किरात भाषा, लिपिको विकास र विस्तारको लागि एक आपसमा हातेमालो गरेर अघि बढौ । यसै सन्दर्भमा स्वयंभुलाल श्रेष्ठले भनेका छन् "जुन सुकै जातिको उत्थान गर्नु पर्छ भने त्यस भाषा, संस्कृतिको उत्थान गर्नु पर्दछ" । वास्तवमा यो भनाई सत्य छ । यस सत्यतालाई रामरी बुझौ । किनभने हाम्रो स्वाभिमान एवं अस्तित्व हामीले जोगाउनु पर्दछ । अत: यो काम सफलताको उचाइमा पुर्याउन हाम्रो लागि चुनौती र अवसर दुवै हुन् । 

संकलक :- शेर बहादुर हेम्ब्या सुब्बा (आसाम)