किरात
लिपि कि लिम्बु लिपि ?
किरात दर्पण (देवदास राई लुगुन)
प्राचिनकालदेखी नै अस्तित्वमा
रहेको किरात लिपिलाई आजका केहि लिम्बु लेखकहरुले "लिम्बु लिपि"
भनेर लेखन थालेका छन् । यसबाट के बुझिन्छ भने ईतिहासलाई पछाडी पारेर वर्तमानमा
आफ्ना-आफ्ना कुरा राखेर मपाई बन्न खोजेको जस्तो देखिन्छ । वास्तवमा यो स्वार्थपरक
धारणा हो कि विवेक को कमि हो । यस समयमा "लिम्बु लिपि" कति
सान्दर्भिक छ ? हामि सबैले सबैतिर बुझ्नु पर्ने आवश्यकता देखिन्छ । किनभने हामी
राई जातिले पनि लेख्दै आएको या मान्दै आएको "किरात लिपि" लाई "लिम्बु
लिपि" भनेर विभिन्न छापाहरुमा आउनु राम्रो होईन । यस्तो विवादले किरात
जातिको एकतामा अनेकता सृजना हुन सक्दछ । यसो भएमा हामि किरात जाति शुन्यको
अवस्थामा रहनेछौ । र शुन्यको अवस्थामा विलय हुनेछौ । यस अवस्थामा हामि बिचको
तेजिला उमंगहरु हामि बिचको द्रिढ विश्वासहरु दन्त्यकथामा परिणत हुनेछ । अनि हामि
बाहुनवादको शाव्दिक सम्मोहन प्रति आकर्षित भएर मौनधारण गरेर बस्नु पर्नेछ ।
हुनत हामि किरातीहरुले यस्तो
त्रासदी स्थिति सृजना गर्नु हुदैन भन्ने मेरो मनसाय हो / तर आज अहा "लिम्बु
लिपि" जबरजस्त लाद्न खोजिएको जस्तो देखिन्छ । यथार्थमा यदि "किरात
लिपि" सम्बन्धी ऐतिहासिक तथ्य सत्य हो भने "लिम्बु लिपि"
स्वीकार्नु पर्छ भने कसैको बाध्यता हुन सक्दैन । अट सत्य कुरालाई ढाकछोप गरेर
हाम्रो स्वाभिमानभित्र कलंकको छाप पर्न दिनु हुदैन । कित राईहरु चुपचाप शान्त भएर
बस्नु पर्यो कित एउटा साँघुरो मस्तिष्कभित्र आएको कुरालाई समर्थन गारेर बस्नु
पर्यो । कि त छाडी दिउ अस्ता कुरा भन्नु पर्यो । यस्तै हो भने विनोवाभावेले भने
जस्तो हुन सक्छ । विनोवाभावेले भनेका थिए :- "इतिहासको सबक सिक्न नसके
इतिहास दोहोरिन्छ" यो कुरा हामीले बुझ्न सकेनौ भने समय र परिस्थिति
अनुकुल सम्भव हुन सक्दछ । त्यतिबेला हामी किरातीहरु अन्यायमा परेको हुनेछौ / हामि
बीच अशान्ति छाउनेछ । र हामी उपेक्षित भएर बस्नु पर्नेछ ।
यसै क्रममा अब "लिम्बु
लिपि" बारेमा केहि कुरा उल्लेख गर्न चाहान्छु । भारत सिक्किमका भू.पु.
मुख्य मन्त्री सन्चमान लिम्बुले "किरात लिपि" लाई "लिम्बु
लिपि" भनेर बारम्बार भनी रहनु भएको छ । यसरीनै पाचथर घरभई हाल काठमान्डू
बस्नु भएको कवि. साहित्यकार बैरागी काइला र भारत दार्जिलिं मिरिकका विरही काइलाले
पनि "किरात लिपि" लाई "लिम्बु लिम्बु" नै भनेर
जोड दिनु भएको छ । यसरीनै झापा बिर्तामोडका तिक्मध्वोज ताप्मादेन, भुवनचन्द्र
लिम्बु र अमित लिम्बु समेत तीन जनाले
संयुक्तरुपमा "किरात लिम्बु वर्णमाला" वि.सं २०६० सालमा प्रकाशित
गरेका छन् । यसै क्रममा फेरी वि.सं. २०६० सालको "फाल्गुनन्द
विशेषांक" मा पाचथर नागीका योङहाङ मच्छिन्द्र लिम्बुले पनि "युगपुरुष
फाल्गुनन्द" शीर्षक लेखको एक ठाउमा महागुरु फाल्गुनन्द बारेमा यसरी
लेखेका छन् "धर्मको कर्मकाण्ड आफ्नै लिम्बु भाषामा तैयार गरी श्रीजङ्गा
लिपिको प्रचार प्रसार आजीवन गर्नु भयो" यसले हामि किरातीहरु बीच अन्योल
पूर्ण अवस्था सृजना गरेको देखिन्छ । यस्तो वादविवाद रहिरह्यो भने हाम्रो किराती
समाज कहिले उठ्दैन । अनि सफलताको शिखरमा पनि पुग्न सक्दैनौ ।
यस्तो हुन पनि राम्रो होइन । तर
यहाका केहि लिम्बु लेखकहरुले "किरात लिपि" लाई कहिले "लिम्बु
लिपि" कहिले "सिरिजंगा लिपि" लेखी रहेका छन्, भनिरहेका
छन् । तर यस्ता प्रस्तुतिले पुस्तौ पुस्ता देखिको सम्बन्धमा खोट लाग्न सक्दछ ।
किनभने हामि राई लिम्बु एकै हौ । केवल भाषा केही फरक पर्न गएको छ । तथापि जातियता,
धर्म, रीति संस्कारले एकै सम्झनु पर्दछ । यसरी बनेको अस्तित्वलाई मेटाउन हुदैन ।
आज सम्म जानेका, बुझेका "किरात लिपि" लाई "लिम्बु लिपि
सिरिजंगा लिपि" भनेर भ्रम एवं अन्यौलमा पार्न खोज्ने फुटाउ र शासन गर
भन्ने सोचको उपज हो । यसरी फुट गराउने
तत्वसंग हामी सधै होशियारी रहनु पर्दछ । र किरात एकताका निम्ति एक जुट हुन आवश्यक
देखिन्छ । किनभने हामी राई, लिम्बु "किरात" हौ भन्ने कुरा
स्वीकारी सकेका छौ । यदि यो यथार्थलाई बुझ्न सकेनौ भने भोलिको दिनमा किरात इतिहास
कंलकमा दरिन सक्दछ । त्यति बेला विश्वकवि रविन्द्रनाथ तेगौरले भने जस्तो हुनेछन ।
विश्वकवि रविन्द्रनाथ तेगौरले भनेका थिए :- "यदि सूर्यलाई गुमाएर आसुँ
बगाउछौ भने तिमीले तारा पनी गुमाउनेछौ" यो कुरालाई गम्भीरता पुर्वक सोच
राख्दै किरात जागरणको अभियानमा सत्य र निष्ठाका साथ अगाडी बढौ । अब "किरात
लिपि" को वास्तविकता पट्टि जाउँ । हिजो आज हामी बीच चलन चल्ती आएको
लिपिलाई "किरात लिपि" भनेर लेखिएको उदाहरण प्रशस्तै
भेटिन्छ-देखिन्छ । किरात भाषाविद एवं इतिहासकार इमानसिंह चेम्जोंले आफूद्वारा
लेखिएको पुस्तकहरुमा "किरात लिपि" नै लेखेका छन् । यसबाहेक
लेफ्टिनेन्ट कर्णेल भस्सी डा. ब्राइन हजसन, कर्णेल कर्कपेट्रीक, प्रोफेसर आर, के,
स्प्रीग, क्याप्टन सी,जे, मोरिस, डा. कमला सांक्रित्यायन आदि विदेशी विद्वानहरुले
पनि किरात जाति र किरात लिपि बारेमा खोज अनुसंदान गरी आ-आफ्ना पुस्तकमा लेखिसकेका
छन् । बर्तमान किरात धर्म गुरु आत्मानन्द लिङदेङ सेइङ ले पनि "साम्जीक
मुन्धुम" लेखिएको लिपि "किरात लिपि" नै हो "लिम्बु
लिपि" होइन भनेर किन लेखने ! वास्तवमा "किरात लिपि" बाट
लेखिएको हस्तलिखित पुस्तकहरु लण्डनको "इंडिया लाइब्रेरी" मा सुरक्षित
रहेको कुरा सुन्नमा आएको छ । अत: किरात जतिको भाषा लिपिको खोज अनुसन्धान उल्लिखित
विदेशी विद्वानहरुले गरेका हुनालेनै यस बारे जान्न बुझ्न आज हामीलाई सहज सुविधा
भएको छ ।
अब फेरी हामी किरात लिपि नै
प्रसंगमा जाउ । तत्कालिन श्री ५ को सरकार, शिक्षा मन्त्रालय, पुरातत्व विभाग,
रास्ट्रिय अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रकाशित गरेको "लिपि विकासको
तालिका" अहिलेको सन्दर्भमा हेर्न बुझ्न अत्यन्तै आवश्यक देखिन्छ । त्यस
तालिकामा नेपालमा लिच्छवी पुर्वकाल, लिच्छवीकाल, मल्लकाल र शाहवंश काल्सम्ममा चलन
चल्तीमा आएको ब्राह्मी, पुर्व लिच्छवी, उत्तर लिच्छवी, किरात, रन्जना, भुजिमो,
नेवारी, मैथिली, तिब्बती, नन्दनगिरी, देवनागरी, समेतका लिपिहरु उल्लेख भएको पाइन्छ
। तर त्यो लिपि विकासको तालिका हेर्दा राई लिपि र लिम्बु लिपि को अस्तित्व नरहेको
देखिन्छ तसर्थ इतिहासको मूल्य मान्यता एवं भाषा लिपिको मान्यता माथि खेलवाड
गर्नु गराउनु हास्यास्पद कुरा हुन जानेछ । अत: यस्तै कृयाकलाप माथि मध्यनजर राख्दै
"घुम्ने मेचमाथि अन्धो मान्छे" कवितामा कवि भूपी शेरचनले
यस्ताकुरा लेखेका छन् :-
"हामीले आफ्नो
पुर्व स्मृति गुमाई सक्यौ
हामीले आफ्नो विगत
उचाइलाई बिर्सि सक्यौ"
उल्लेखित कुराहरुलाई हामी सम्पूर्ण किरातीहरुले मनन गर्नु पर्दछ, बुझ्नु
पर्दछ । किनभने हामी किरात-किरात नै हौ । किरात लिपि, लिम्बु लिपि र सिरिजंगा लिपि
भनेर तर्क बहस गरिरहनु राम्रो होइन । हामीले परस्परमा सत्भाव, सचेतना र एकताको
भावना जगाउनु पर्दछ । किरात इतिहासलाई कहिले उपेक्षा गरिनु हुदैन । इतिहास बिर्सेर
किही लिम्बु लेखकहरुले "किरात लिपि" लाई "लिम्बु
लिपि" र "सिरिजंगा लिपि" भनेर लेखन थालियो भने राईहरुले
पनि भोलिको दिनमा राई लिपि खोज्न थाल्नेछ । हामि बीच यस्तो भयो भने हाम्रो किरात
अस्तित्व च्याङलिएको थाङना जस्तो हुन जानेछ । त्यसैले अब आडम्बरको पराकाष्ठमा
पुगेर किरात इतिहासलाई खोक्रो प्रतीक बनाउनु हुदैन । किनभने हामी किरातीहरु बीच
चलन चल्तीमा आएको "किरात लिपि" लाई कसैले "लिम्बु
लिपि" कसैले सिरिजंगा लिपि" को मत मतान्तरणमा बहस गरिरहयौ
भने हाम्रो लक्ष पुरा हुन सक्दैन । र हामी बैरागीएको पथिक जस्तै हुनेछौ । अत: हामी
पीडा र वेदनाले भरिएको पर्खाल भित्र सीमित हुनेछौ । तब हामी नीस्पन्द, निश्चल,
शिथिल र चुपचाप भएर बस्नु पर्ने हुन्छ । तसर्थ हामी वर्तमानको सचाई प्रति जागरुक
हुनु आवश्यकता देखिएको छ । किरात लिपिलाई भ्रम भ्रान्तिमा पर्न दिनु हुदैन । अब
हामीले सच्चाईको अनुभव गर्नु पर्दछ । वास्तविकता के हो ? गहिरिएर बुझ्नु पर्दछ ।
यसरि बुझ्न सक्यौ भने स्वस्थ सोचमा शुद्धता आई जातीय एकतामा सक्रियता आउन सक्दछ ।
र भोलिको दिनमा हामी किरातीहरुको निम्ति यो नै सबै भन्दा महत्वपुर्ण हुन जानेछ ।
अन्त्यमा, टुट, फुट र गुटको सृजना नगरी जिन्दगीको सार्थकताको सही पहिचान
गर्न गराउन हामी एकजुट हुन आवश्यकता देखिएको छ । तसर्थ हामी भित्र उब्जने रिस,
राग, दोष, ईर्ष्या, अहम्लाई त्याग्न पर्ने देखिन्छ । अत: यी सबै त्यागेर नैतिक
चरित्र, इमान, धर्म, सद्भाव एवं अनुशासनलाई मुलमन्त्र ठानेर कर्म क्षेत्रमा लाग्यौ
भने सर्वहितायको निम्ति आनन्द छर्न सक्दछौ । त्यसैले अब उसो हामीले "किरात
लिपि" लाई विवाद रहित बनाउन सक्यौ भने हामी किरातीहरु (राई-लिम्बु) बिचको
साइनो सम्बन्ध झ्यांगिदै जान सक्दछ । तब विश्व रंगमंचमा हाम्रो इज्जत र प्रतिष्ठा
पनि सबैतिर बढेर जान सक्दछ ।
नोगेन आ-सेवारो
संकलन :-
शेर बहादुर सुब्बा सरलपाडा B.T.A.D. आसाम
No comments:
Post a Comment