" किरात धर्ममा कर्म संस्कार "
Sunil Chamling Rai - 2013
Saralpara Assam kokrajhar .
“संसारी माया बिचित्र
मरेर केपो लानु छ ,
नगर्नु व्यर्थै लोभी मन
छोडेर जान्छ व्यर्थैको धन”
यो किरात समाजमा युगौँदेखि बुड़ा-पाकाहरुमा भन्दै आएको कथन हो |
जब यो बिचित्र संसारमा सृष्टि हुन्छ, तबनै मनुष्यको सृष्टि हुन्छ | मनुष्यको सृष्टि त भयो तर अजम्बरी हुन सकेन | तब के भयोत भन्दा यो संसारिक मायामा मनुष्य भौँतारी रहने भयो, आफ्नो कर्म, धर्म, विधि-विधान केहो सो चासो नराखने, नलिने र कुकर्म, कुसंस्कारतिर लम्किने हुन थाले तर मनुष्यलाई थाहा छ कि कर्म नै धर्म हो भन्ने र धर्म नै कर्म हो भन्ने | यस्तै प्रकारले किरात जाति पनि चीनको मुनान भन्ने स्थानमा सृष्टि भयो , तर पछी गएर बसाई सारिने क्रममा आफ्नो कर्म, धर्म, संस्कार भन्ने कुरालाई जगेरा गरेनन र आज किरात जतिको सन्ततिहरु हामी सबैनै पछौटे बर्गमा परेको छौ , अनि हाम्रो धर्म, कर्म, संस्कार भिन्नता देखिएको हो | आजको एकाईस्सौ सताप्दिमा पनि किरातहरु पछौटे वर्गको सुचिमा पर्दा हुनु भनेको अचम्भकै कुरा हो | साच्चिनै भन्नु हो भने हाम्रो आफ्नो धर्म, कर्म, संस्कार छैन र ? छ | हाम्रो सबै थोक छ तापनि आजको अवस्थामा पनि पछाडिनु अतिनै दु:खलाग्दो कुरा हो | हामीलाई आशा छ कि हाम्रो आफ्नो धर्म, भाषा-लिपि, साहित्य, संस्कृति तथा रीति-रिवाज छ , तर हामि यो संसारमा जताततै पराईको ईशारामा रङ्गी-चङ्गी र व्यर्थैमा भौतारिएर हिड्ने गरिएका छौँ , पराईको भाषा-लिपि, धर्म-संस्कृतिलाई मनपराउने गर्दछौ , पराईकै सिको गरि तोपल्छौ , पराईको नियम-नीति रीति-रिवाजलाई खुल्लासाथ स्वागत गर्न पछी पर्दैनौ , आफ्नो भन्नेलाई नाक खुम्च्याएर मुख बिगारेर घृणा गर्दै छी: छी: भनेर पर पन्छाउने गरेका छौँ | वास्तवमा हामि किरात हौँ , हाम्रो आफ्नो धर्म, कर्म, संस्कार, वेद-विधान छ | आफ्नो धर्म, कर्म, संस्कारलाई अंगाल्नु भनेको आफ्नी आमालाई चिनेको हो , आफ्नो हुँदा-हुँदै पराईलाई आत्मसाथ गर्नु भनेको आफु स्वत: बिलाउनु, हराउनु, मासिनु पो हो | आफ्नो कर्म-व्यवोहार्ले गर्दा मानिस पछाडि हुनु परेको छ | मानिसको कर्म जम्मा तीनवटा हुन्छन जस्तै --
१. न्वारान ( याङदाङ मेखिम )
२. विवाह कर्म ( तेन्धाप मेखिम )
३. मृत्यु तथा बर्षान्त कर्म ( सिदोवा थिम )
१. जन्म तथा न्वारन कर्म :-
किरातमा जब बच्चा जन्म हुन्छ छोरा हुस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान | छोरी भए (३) तिन दिनमा र छोरा हो भने (४) दिनमा याङदाङ फोङमा गरिन्छ | याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी र आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ | छोरा भए (१०) दश दिनमा र छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ | अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा र पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ र सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ | किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ |
२. विवाह कर्म :-
मानिसले जन्म लिएपश्चात न्वारान भएपछि जीवन शुरु हुन्छ , ३ / ४ वर्ष पुग-नपुग हुँदा विद्यालयमा प्रवेश गरेपछि विद्यार्थी जीवन बित्दै जान्छ | जब २५/३० वर्ष पुग्छ तब विवाह कर्म गर्नु पर्ने हुन्छ , मानिसको जीवनमा एकपटक विवाह कर्म हुन्छ र मानिसले सोँचेर बुझेर विवाह गर्नु पर्दछ , विवाह धेरै प्रकारका हुन्छन | जस्तै :- प्रेम विवाह, दर्ता विवाह, गन्धर्व विवाह, कुम्ले विवाह, चोरी विवाह | वर्तमानको समयमा गन्धर्व, कुम्ले, चोरी विवाह गर्ने चलन हराउन लागेको छ | प्रेम विवाह र दर्ता विवाह को चलन बढ्दै गएको देखिन्छ |
३. मृत्यु संस्कार तथा बर्षान्त कर्म :-
प्रकृतिको अकाट्य नियम यो छ कि जन्म पछि मरण सबैले बेहोर्न पर्छ | यो विधिको बिडम्बना पूर्ण विधानलाई कसैले रोकेर, छेकेर राख्न सकिन्न | रैतिदेखी राजासम्म र भुसुना देखि हात्तिसम्मले पनि कालको फन्दामा पर्न पर्छ | त्यसैगरी हाम्रो किरात समाजमा मरण भएमा किरात साम्जिक मुन्धुम वाचन गरि मरण संस्कार कर्म गर्ने चलन छदैछ |
क )
दाँत नफुक्ली मर्ने बालक ( ताङलिङ अम्बा ) जब बच्चा जन्म देखि दाँत नआउन्जेलसम्म परलोक भएकोलाई ताङलिङ अम्बा भनिन्छ | जन्मदेखि महिनादिन भित्रमा मर्ने बालकलाई बार्नु पर्दैन | लास दफन गर्नुपर्छ | र त्यसैलाई मोच, ची: चीघा, कि जिप्पा पनि भनिन्छ | त्यसलाई साधारण शुद्ध गरे हुन्छ | एक महिनादेखि उता दाँत नउम्रिन्जेलसम्मको नानीको लागि एकदिन एकछाक बारन गरेर छोरालाई चार (४) दिन आधाकर्म गर्नुपर्छ | यो पनि ताङलिङ अम्बा परिधिभित्र पर्छ | दाँत फुक्लेर उम्रेको नानीहरुको लागि पुरै कर्म संस्कार गरि मुक्ति दिनु पर्छ | गर्भ तुहर झरेको / जन्मेकोलाई केहिगर्नु पर्दैन भनि किरात कर्म संस्कार साम्जिक मुन्धुममा लेखिएको छ |
ख )
लडी / झुण्डी मरेको सेहे-सोधा - कतिएर लड़ेर अथवा झुण्डिएर अर्थात कुनै कारणले गोलि, भाला, बोमा, विविध घटना, विषपान गरी अपर्झट दुर्घटनाबाट परि मरेको मृतक आत्मालाई 'सोघा' भनिन्छ | सोघा लाशलाई डाडाँ-काडाँमा लगी आगोमा जलाएर खाक भएको अंगार-खरानीलाई खाल्टोमा पुरी चिहान दुरुस्तै बनाईदिनुपर्दछ | सोघा लाई छोरी भए तिन (३) दिन, छोरा भए चार (४) दिन बारन गरी बिदा दिने र सामसामा मुन्धुम तिन (३) पटक बिहान-बेलुकी र मद्यारातमा पढेर बाटो लगाउनु पर्छ चोट-पटक निको नभई जतिदीन पछी मरेपनि सोघा ठहरिने छ |
ग )
गर्भवती सुत्केरी मरेमा ( सुगुप ) गर्भवती महिला नानी जन्मन नसकी या जन्माएर २२ देखि २४ दिन भित्रमा मृत्यु भएमा सुगुप हुन्छ | सुगुपबाट मरेकी उल्लेखित सोघासरहनै मानिन्छ र मुक्ति संस्कार कर्म उही अनुरुप गर्नुपर्छ | २२/२५ दिन नाघेर मृत्यु भएमा ति सुगुप हुन सक्दैन | किरात राई भाषामा मामांग सुक्खा सुगुप भनिन्छ र सुगुप भइ देहान्त हुने मानिसको लागि भने सुनसान मध्यरातमा चारपटक सामसामा मुन्धुम पढेर मुक्ती कार्य गर्नु पर्छ |
घ ) नुनतेल छुने र चोखिने -
छोरी भए तिन (३) दिनमा, छोरा भए चार (४) दिनसम्म मृतकको साम्दाखोङ घरभित्र बिछ्यार रुंग्नु बस्नु पर्दछ | पिण्ड दिने ठाल बनाएर बिहान-बेलुकी या दिउसो सोही साम्दाखोङ सेतो कपडा बिछ्याएको छेउमा राखी पिण्ड दिनुपर्छ | हिजोको १० लिम्बुवान १७ थुम्को सामाजिक रीति-थिति, विदी-विधानको बलिपुजा गर्नु जाँड़-रक्सी, मासु, चुरोट-सुर्ती चडाउने चलन आज पनि छदैछ | तर आजभोली किरात समाजमा व्याप्त रुड़ीवाद, कुसंस्कार, अन्धविश्वासलाई उन्मुलन गर्न हेतुले चेतनशील किरात बुद्दिजीवीतहरुले कुनैपनि पुजा-आजा, छाड-पर्व, भोज-भत्यार, मरौ-परौ, शुभविवाह आदिमा किरात साम्जिक मुन्धुमको आचार संहिताबमोजिम देवी-देवता, मृतात्मा ईत्यदिमा मासु, जाड़-रक्सी चडाउने प्रथालाई निषेध गरेकोछ | साम्दाखोङमा सेवासाबा (पुजारी) ले साम्सामा मुन्धुम मृतात्मालाई तारान्तार गर्ने स्वर्गलोक-पितृलोकमा साम्भुहाङ फाक्तुङधो मृत्युराजको राज्यमा जिम्मा दिने शास्त्र, मुन्धुम पढेर एकतारे बाजासहित फलाकेर बाटो दिने मुन्धुम वाचन गर्नुपर्छ | त्यस मुन्धुम शास्त्रलाई साम्सामा साम्जिक मुन्धुम भनिन्छ | पासीङ पादाङ दाजु-भाई वंशजले तिन या चार दिन बारण गरेर नुन-तेल छोई खानु हुन्छ | तर क्रियापुत्र-पुत्री, मृतकका छोरा-छोरीहरुले भने बाबु-आमाको हकमा आमाकोलागी ९ दिन बारण गरी दशौ (१०) दिनमा चोखिने र बाबु भए १० दिनमा बारण गरी ११ दिनमा चोखिने मुक्ति कर्म गर्नुपर्छ | नुनतेल छोएपछि पाचँ दिनसम्म नुनतेल खाएपछि पुन बारण गरी चोखिने, मुक्ति दिनको अघिलो रातभर साम्दाखोङ थापेर सामहीम बनाई साम्सामा मुन्धुम बाचन गरेर बिदा गर्नुपर्छ | भोलिपल्ट बिहान सामहिम क्रियापुत्रहरुले घरदेखि पाखा बाहिर पर यज्ञ मण्डपमा ल्याई राखेपछि मुन्धुम पढेर मुक्ति कार्य गरि मिक्वा नावा साङमा आसुँ पुछ्ने, सुन पानीले मुन्धुम वाचन गर्दै चोखि शुद्धहुने गर्नुपर्दछ | यसरि मुक्ति कार्य समाप्तपछि अन्य धर्मलम्बीजस्तो बर्षान्त र बार्षिक पिण्ड श्राद्ध दिई रहनु पर्दैन | सदाको लागि अमरत्व देवतत्व प्राप्त हुने विश्वास किरात धार्मिक शशि मुन्धुममा पाईन्छ | आमा-बाबाको हकमा अनि क्रियापुत्रीले राख्नु चाहेमा एक वर्षसम्म बारेर मुक्ति दिनु हुन्छ भन्ने खापुना मारङनामा मुन्धुमले बताईन्छ |
संकलन "सेवारो" स्मारिका रानीखाता लिम्बुबस्ती |
संकलक शेर बहादुर हेम्ब्या सुब्बा सरलपाडा ||
लेख 2013 / संकलन 2018 अंग्रेजी ||
No comments:
Post a Comment